गुँरासको राजधानी तिनजुरे–मिल्के–जलजले संक्षिप्त परिचय
गुँरासको राजधानी तिनजुरे–मिल्के–जलजले संक्षिप्त परिचय
तिनजुरे–मिल्के–जलजले (टिएमजे) गुँरासको लागि ज्यादै प्रख्यात क्षेत्रको रुपमा लिईन्छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ्ग जिल्लाको उच्च पहाडी भेगको ५८५ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएर रहेको यस क्षेत्र गुँरासको राजधानीले परिचित एक महत्वपूर्ण संरक्षित क्षेत्र हो । २७०६’५७” देखि २७०३०’२८” उत्तरी अक्षांश र ८७०१९’४६” देखि ८७०३८’१४” पुर्वी देशान्तर भौगोलिक अक्षमा अवस्थित यो क्षेत्र तेह्रथुम, ताप्लेजुङ्ग र संखुवासभा जिल्लाको संगमस्थल हो जुन तमोर र अरुण उपत्यकाको जलाधार क्षेत्र भित्र पर्दछ । यस क्षेत्रको उचाई १७०० मी. देखि ५००० मी. सम्म रहेको छ । यो क्षेत्र गुँरास प्रजातिहरुको रैथाने थलो एवं गुँरास प्रजातिहरुको वंशाणुको स्रोत भएकोले नेपाल सरकारले २०५५ सालमा यस क्षेत्रलाई राष्ट्रिय गुँरास संरक्षित क्षेत्रको रुपमा घोषणा गरयो । संरक्षित वनको क्षेत्रफल ५८२३२.८८ हेक्टर मध्ये ५६१७३.५५ हेक्टर वनले ढाकेको छ । यस क्षेत्रभित्र तत्कालिन तेह्रथुम जिल्लाको १२ वटा गा.वि.स., संखुवासभा जिल्लाको ७ वटा गा.वि.स. र ताप्लेजुङ्ग जिल्लाको ६ वटा गा.वि.स. गरी जम्मा २५ गा.वि.स.हरु पर्दछन् ।
तिनजुरे–मिल्के–जलजले (टिएमजे) गुँरास लगायतको वन, प्रचुर जैविक विविधता, प्राकृतिक मनोरम दृश्य, जलाधारको स्रोत, धार्मिक एवं साँस्कृतिक दृष्टिकोणले सम्पन्न रहेको नेपालकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा लिन सकिन्छ । कञ्चनजंघा र मकालु संरक्षण क्षेत्रको विचमा अवस्थित यस क्षेत्र विश्वको २०० महत्वपूर्ण पारिस्थितीकीय क्षेत्र मध्येको एक क्षेत्रको रुपमा लिईन्छ । यहाँ हिमाली घाँसे मैदान र झाडी, ठूलापात भएको जंगल र सल्लाका जंगलहरु पाईन्छ साथै विभिन्न प्रजातिको वनस्पति र वन्यजन्तु हरु पाईन्छ । यहाँ लोपोन्मुख स्तनधारी वन्यजन्तु हिउँ चितुवा, जंगली विरालो, चितुवा, हिमाली कस्तुरी मृग र विश्वव्यापी रुपमा खतरामा परेको चरा डाँफे नेपालको राष्ट्रिय पंक्षी समेत यस क्षेत्रमा पाईन्छ । वन तथा वनस्पतिको उपोष्णीय, शीतोष्णीय, उपहिमाली र हिमाली भेगमा पाईने प्रमुख प्रजातिहरु समेत यसै क्षेत्रमा पाईन्छ ।
यस तिनजुरे–मिल्के–जलजले क्षेत्रमा ३ वटा पारिस्थितीकीय क्षेत्र समेट्ने र जैविक विविधताको धनी अनुपम क्षेत्रको रुपमा लिन सकिन्छ । यहाँ २५० वनस्पतिको प्रजातिहरु पाईन्छ । यस क्षेत्रमा चिराईतो, विख्मा, पाँचऔले, कुट्की, जटामासी, लौठसल्लो जस्ता गैरकाष्ठ वनपैदावर तथा जडिवुटीहरु प्रचुर मात्रामा पाईन्छ । यस क्षेत्र भित्र नेपालमा पाईने ३२ प्रजातिको गुँरास मध्ये २८ प्रजातिका विभिन्न रंगहरुमा प्राकृतिक रुपमा पाईन्छ । त्यसैगरी विश्वको सवभन्दा होचो र सवभन्दा अग्लो गुँरास पनि यसै क्षेत्रमा पाईन्छ । वराह क्षेत्र देखि चीनको तिव्वतसम्म फैलिएर रहेको नेपालकै सवभन्दा लामो पहाड श्रृङखला पनि यसै क्षेत्र भित्र पर्दछ । प्रकृतिक स्रोतको धनी यस क्षेत्रमा २७४ भन्दा वढी प्रजातिको चराचुरुङ्गीहरु पाईने अनुमान गरिएको छ ।
यस क्षेत्रबाट कञ्चनजंघा र मकालु वरुणको रमणीय दृश्य देखिनुको साथै तिन्जुरे र मेन्छ्यायाम् डाँडाबाट सुर्योदय र सुर्यस्तको दृश्यावलोकन सकिन्छ । अर्को महत्वपूर्ण पर्यटकीय आकर्षण दक्षिण एसियाको सवभन्दा ठूलो ह्यात्रुङ्ग झरना यसै क्षेत्रमा पर्दछ । जलाधार यस क्षेत्रमा जलजला पोखरी, सभा पोखरी, पञ्च पोखरी र गुफा पोखरी आदि समेत अवस्थित छ । यसरी जैविक विविधताले भरिपूर्ण यो संरक्षण क्षेत्रमा चीनको स्वायत्त क्षेत्र तिब्बतको मोमोलोङ्मा प्रकृति आरक्षसंग मकालु–वरुण राष्ट्रिय निकुञ्ज र कञ्चनजंघा संरक्षण क्षेत्र र भुटानको जैविक संरक्षण कम्ल्पेक्ससंग जोडिएर रहेको छ ।
जैविक विविधताले भरीपूर्ण यस क्षेत्रमा संरक्षित वनहरुमा गुँरास वन ८८७४.१४ हेक्टर अर्थात कूल संरक्षित वन क्षेत्रफलको १५.८० प्रतिशत रहेको छ । यस संरक्षित वनमा गुँरास प्रजातिहरुको वंशाणु स्रोत रहेको छ । विविध प्रजातिको गुँरासहरु रहेको यस क्षेत्रमा चैत्र र वैशाख महिनामा गुँरास फुल्दा एकदमै सुन्दर हराभरा मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ । यस समयमा सदाभन्दा वढी संख्यामा आन्तरिक तथा वाह्य पर्यटकहरु गुँरासको मनोरम दृश्यावलोकन गर्न आउने गर्दछन् । प्राकृतिक रुपमा सौन्दर्य र मनमोहक यस क्षेत्र ऐतिहासिक तथा सांस्कृतिक रुपले पनि उत्तिकै धनी रहेको छ । यस तिनजुरे–मिल्के–जलजले क्षेत्रमा मन्दिरहरु, पाटी पौवा, धर्मशालाहरु प्रशस्त देख्न सकिन्छ ।
यस तिनजुरे–मिल्के–जलजले क्षेत्रमा वसोवास गर्ने मानिसहरु हिन्दु, बौद्ध, किराती आदि विविध धर्म मान्ने गरेको पाईन्छ । धर्म अनुसारको आफ्नै परम्परा, संस्कार, संस्कृतिहरु रहेको छ । राई, लिम्वु, वाहुन, क्षेत्री, शेर्पा, तामाङ आदि विविध जातिको वसोवास रहेको यस क्षेत्रमा उनीहरुको संस्कार, संस्कृतिहरु पनि पर्यटन उत्पादनको रुपमा लिन सकिन्छ । मुख्यगरी घरवासको व्यवस्था, आतिथ्य सत्कार, धान नाच, स्याव्रु नाच, च्याव्ब्रुङ नाच, चण्डी नाच जस्ता सांस्कृतिक महत्वले अझ पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने देखिन्छ । यानकी यस टिमएजे क्षेत्र प्राकृतिक रुपले मात्र नभई ऐतिहासिक, बहुसांस्कृतिक र बहुधार्मिक हिसावले पनि सम्पन्न रहेको छ । यसैले यस तिनजुरे–मिल्के–जलजले उच्च जैविक विविधता र अद्धितीय सामाजिक संस्कृतिहरुको मिलन रहेको पर्यावरणीय क्षेत्रको रुपमा स्थापित भएको छ ।
गुुँरासको राजधानी तिनजुरे–मिल्के–जलजले प्राकृतिक, सांस्कृतिक एवंम् धार्मिक रुपले सम्पन्न भएकोले नेपालकै एक पर्यटकीय गन्तव्य स्थलको रुपमा लिइन्छ । तर हालको वर्षहरुमा बढ्दो जनसंख्या चापको कारणले वनक्षेत्रमा अतिक्रमण, अवैध वन–पैदावर संकलन, वन्यजन्तु चोरी–निकासीले गर्दा संरक्षित वनको हैसियतमा ह्रास आईरहेको छ । त्यसैगरी यहाँको समुदायको मुख्य पेशा कृषि, पशुपालन र व्यापार रहेकोले यही पेशा उनीहरुको अर्थतन्त्र तथा जीविकोपार्जनको माध्यमको रुपमा रहेको छ । यसैले यहाँका समुदाय निर्वाहमुखी जीविकोपार्जन तथा गरिबीका कारण प्राकृतिक स्रोतहरुमा अत्याधिक निर्भरता हुने गरेको पाईन्छ ।
स्थानीय समुदायको प्राकृतिक स्रोत माथि निर्भरता हुनको कारणले पनि वन फाँडनी हुने गरेको पाईन्छ । यदाकता कतै कतै परम्परागत स्थानान्तरित खेती प्रणाली को कारण पनि वन फाँडनी र वन आगलगी हुनुले वातावरणीय सन्तुलनमा ह्रास हुन पुगेको अनुमान गर्न सकिन्छ । यसैगरी पशुपालनको लागि अव्यवस्थित गोठ तथा खुल्ला चरिचरन हुनु, वनका साथै गुँरास प्रजाति संरक्षण र महत्वपूर्ण संकटापन्न जैविक विविधताहरुको संरक्षण र सम्वद्र्धन सम्वन्धि जनचेतनाको कमी हुनुले वनको दिगो संरक्षण र उपयोग हुन सकिरहेको छैन । अर्कोतिर जलवायू परिवर्तनका कारण खेतिपाती गर्ने किसान र हिमाली क्षेत्रमा घुमन्ते पशुपालक समुदायहरु जोखिमपूर्ण अवस्थामा रहेका छन् । जसबाट स्थानीय समुदायको जीविकोपार्जनमै नकारात्मक असर परेको छ । यस कारण तिनजुरे–मिल्के–जलजले संरक्षित वनमा गुँरासको वंशाणु संरक्षणका साथै वातावरण संरक्षणमा जोड दिनु पर्दछ । समुदायको जीविकोपार्जनको माध्यम वन तथा कृषि प्रणालीमा आधारित खेति तथा व्यवसायलाई वातावरणमैत्री वनाउदै उनीहरुलाई संरक्षण सम्वन्धि सचेत गराउने र उनीहरुमा पर्यावरण संरक्षण प्रतिको सामुहिक प्रतिवद्धता र जवाफदेहिता अभिवृद्धि गर्नु पर्दछ । त्यसरी नै वन तथा कृषि प्रणालीमा आधारित हरित उद्यमहरुको प्रवद्र्धन गरी प्राकृतिक स्रोतको समुचित उपयोग र व्यवस्थापन गरी समुदायको अर्थतन्त्रमा समेत सहयोग पुग्ने देखिन्छ ।
त्यसैगरी समुदायमा आधारित संरक्षणमुखी वन व्यवस्थापनद्धारा जैविक विविधता र वातावरण संरक्षण गर्ने कार्यलाई बढवा दिन सके यस लालीगुँरास संरक्षित क्षेत्र तिनजुरे–मिल्के–जलजले (टीएमजे) प्रति समुदायको अपनत्व अभिवृद्धि भई संरक्षणमा थप टेवा पुग्ने विश्वास गर्न सकिन्छ । टिएमजे जैविक विविधता, प्राकृतिक सौन्दर्य, साँस्कृतिक, धार्मिक एवम् वातावरणीय क्षेत्रको एकिकृत विकासद्धारा पर्यटन क्षेत्रको प्रवद्र्धन गरी स्थानीय समुदायको जीविकोपार्जनमा समेत सुधार गर्न सकिन्छ । मुलतः गुँरासको राजधानी यस टिएमजे क्षेत्रको संरक्षित वनमा लालीगुँरास वंशाणु संरक्षणका साथै वातावरण संरक्षणद्धारा पर्यावरणीय पर्यटन क्षेत्रको विकास गर्न जरुरत छ ।
निम्न पुस्तकमा तिनजुरे–मिल्के–जलजले (टीएमजे) तथा हरित उद्यमको बारेमा केही जानकारी पाउन सक्नु हुनेछ ।
केही महत्वपूर्ण लिंकहरु
Photo Credit: www.google.com
You may have missed these articles…
- What is Micro Enterprise?
- What are Enterprise and Entrepreneurship?
- What are Small and Medium-sized Enterprises(SMEs)?
- What is Green Enterprise?
- What is Green Marketing and its Strategy?
- What are Green Growth and Green Economy?
- Ways to Success in Enterprises?
- What are Human Rights?
- What is the International Law of Human Rights?
- Why Social Protection is Important?
- What is the Social Protection System?
- What is Social Protection and What are the International Laws and Policies for Social Protection?
- What are the International Laws and Key Principles of Social Safeguard?
- What are Social Safeguards (Definition, Meaning, and Fundamental Principles)
- What is Governance (Meaning and definition)?
- What is Good Governance?
- What are the Child Protection Systems?
- What are the Key Principles of Child Protection?
- What is Social Justice?
- Human Rights in Nepal
- What are the International Laws of Human Rights?
- What is international copyright law?